“सुन्दर, शान्त र समृद्ध समाज निर्माण” गर्ने उद्देश्यसहित स्थापित जनसेवा केन्द्र नेपालले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ। सामाजिक तथा मानवीय सेवामा समर्पित संस्थाले समाजमा बढ्दै गएको अन्याय, अत्याचार, बेथिति र असुरक्षाविरुद्ध सुधारमुखी भूमिका निर्वाह गर्ने लक्ष्यसहित औपचारिक यात्रा सुरु गरेको हो । कार्यक्रमको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष सरोज उपाध्यायले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल रहनुभएकाे थियो।
कार्यक्रममा संस्थाकी सचिव बिपशना शाक्यले संस्थाको उद्देश्य, हालसम्मका गतिविधि, प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा भावी योजनाबारे जानकारी गराउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सिग्देललाई संस्थाको निर्णयअनुसार मानार्थ सदस्यता प्रदान गरिएको थियो । साथै संस्थापक अध्यक्ष उपाध्यायलाई संस्थापक सदस्यता प्रमाणपत्र प्रदान गरिनुका साथै पदाधिकारी र सदस्यहरूलाई निशान पदक तथा सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पुष्पराज अधिकारी, कोषाध्यक्ष प्रमिला पाण्डे तथा कार्यसमिति सदस्यहरू रामशरण तिमल्सिना, राधेश्याम खड्का, बालकृष्ण बजगाईं, सधिना कार्की र राजकुमार सापकोटालगायत सदस्यहरूले प्रमाणपत्र ग्रहण गरेका थिए ।
यस अवसरमा संस्थालाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूलाई सम्मान–पत्र, प्रशंसापत्र र कदरपत्र प्रदान गरिएको थियो। सम्मानित हुने संस्थाहरूमा सुपरनोभा तालिम केन्द्र (धुलिखेल), रुटिन अफ काभ्रे बन्द, दामी खाजा घर (बनेपा), डि. इको रिसोर्ट (धुलिखेल), आइ.एच.एम. कलेज (ललितपुर), टुकी नेटवर्क डटकम, काभ्रेपोष्ट साप्ताहिक, अनलाइन काभ्रे डटकम, बेथानचोक खबर डटकम र दमक टाउन डटकम रहेका छन् ।
त्यसैगरी मोहनबहादुर गजुरेल, यशोदा रायमाझी, डिकेन्द्र बस्नेत, दिनेश खरेल, विमेश सापकोटा, श्रीओम उपाध्याय, सुमन सिग्देल, राधिका कार्की, कविराज गिरी, अप्सरा खुलाल र यशोदा खत्रीलगायत व्यक्तित्वहरूलाई प्रशंसा तथा कदरपत्र प्रदान गरिएको थियो ।
चैत्र १७, मंगलबार सम्पन्न भएको कार्यक्रममा अतिथि तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्यप्रति ऐक्यबद्धता जनाएका थिए। अन्तिम मन्तव्य दिँदै प्रमुख अतिथि सिग्देलले सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता संस्थाहरू समाज रूपान्तरणका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अग्रज सञ्चारकर्मी, सदस्यहरू, आमन्त्रित व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।