About us

जनसेवा केन्द्र नेपाल एक स्वयंसेवी, गैर–नाफामूलक तथा सामाजिक उत्तरदायित्वमा आधारित संस्था हो। यस संस्थाले मानविय सेवा, सामाजिक न्याय, विपद् व्यवस्थापन, व्यक्तित्व एवं समुदायिक विकासलाई केन्द्रमा राखी संस्थागत कृयाकलाप गर्दैछ।

समाजमा रहेका कमजोर, असहाय तथा जोखिममा परेका वर्गको संरक्षण, सशक्तिकरण र उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्नु यस संस्थाको प्रमुख लक्ष्य हो। यसका साथै विपद्का बेला उद्धार तथा व्यवस्थापनका लागि व्यक्ति र समुदायलाई आर्थिक, भौतिक र मानसिक रूपले सक्षम बनाउन अग्रसरता लिनु नै यस संस्थाको प्रमूख कार्यक्रमिक योजना हो।

जनसेवा केन्द्र नेपालले स्वयंसेवी र सामाजिक विकासमा सहकार्य, सरल जिवनशैली बिस्तार, अनुशासन परिपालना र नैतिकता मुल्य मान्यता स्थापित गराउने बिषयलाई मुख्य कार्यभार बनाएको छ। समाजिक समस्याको पहिचान र सरोकारवालाहरु सँगको सहकार्यमा समस्याको दिगो समाधानका निम्ति रचानात्मक र सिर्जनात्मक भूमिका निर्वाह गरी सामाजिक मुद्दा एवं सरोकारका बिषयमा निरन्तर योगदान पुर्‍याउने यस केन्द्रको प्रतिबद्धता हो।

यस्तै, हामी नेपालीको व्यक्तिगत, सामाजिक र राष्ट्रिय परिचय भनेको हाम्रो आफ्नै परम्परागत मौलिक सोच, दृष्टि, कर्म, संस्कार र सभ्यता हो। ‘सर्वे भवन्तु सुखिनः’ सबै सुखी होउन् भन्ने संस्कृतको यो प्रसिद्ध श्लोकको अंश जसले समग्र विश्वको कल्याण एवं सुखको कामना गर्दछ।

हाम्रा पूर्खाहरुको यहि पवित्र एवं जगत कल्याणको उत्कृष्ट दृष्टिकोणलाई अनुशरण गर्दै यस संस्था निरन्तर परिचालित हुनेछ। उल्लेखित मान्यताबाट टाढा पुगेका हर व्यक्ति, समूह र समाजलाई क्रमिक रूपमा यहि मान्यता अंगिकार गर्ने तर्फ जनसेवा केन्द्र नेपाल लागि पर्नेछ।

बालबालिका, किशोर, युवा, वयस्क र बुज्रूक वर्ग सम्मले क्रमशः बिर्संदै गएका हाम्रा शाश्वत पहिचानलाई जीवन्त बनाउने ध्येयमा यस संस्था बिचलित नभै क्रियाशील रहनेछ।

२. हाम्रो दृष्टि (Vision)

मानवीय मूल्य, सामाजिक न्याय र आत्मनिर्भरता स्थापित भएको सभ्य, सुरक्षित र समुन्नत समाज निर्माण गर्ने तर्फ यस संस्थाले आफ्नो दृष्टि केन्द्रित गरेको छ।

नेपालले शदियौं देखि अपनाई आएको मानविय मुल्य मान्यता र सामाजिक सभ्यताको टुटेको कडीलाई पुनः जोडेर राष्ट्रिय पहिचानलाई स्थापित गर्ने संस्थागत ध्येय राखिएको छ।

हाम्रो बहुभाषीक र बहु सांस्कृतिक पहिचानको जगेर्ना, मौलिक विकासका कार्यक्रमहरुमा सहकार्य, व्यक्तिगत र सामाजिक सुरक्षामा जोड, मितव्ययी र सरल जिवनशैलीलाई प्रोत्साहन, स्वरोजगार तथा स्वावलम्वी व्यक्तित्व निर्माण लगायतमा यस संस्थाको सकृय संलग्नता रहनेछ।

३. हाम्रो लक्ष्य (Mission)

मानव सेवा, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, शारीरिक तथा मानसिक सशक्तिकरणमार्फत सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्दै समाजको समग्र विकासमा योगदान पुर्‍याई सुन्दर, शान्त र सम्बृद्ध नेपालको गन्तव्य हासिल गर्ने यस संस्थाको मुख्य लक्ष्य हो।

४. संस्थाका उद्देश्यहरू

जनसेवा केन्द्र नेपालका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन् :

१. मानवीय सेवा

असहाय, पीडित, गरिब तथा विपन्न वर्गलाई राहत, सहयोग र सेवा प्रदान गर्नु।

२. विपद् व्यवस्थापन तथा उद्धार

प्राकृतिक तथा मानवीय विपद्का समयमा उद्धार, राहत, पुनःस्थापना तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नु।

३. सामाजिक सुरक्षा

बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा, अधिकार र संरक्षणमा सहयोग पुर्‍याउनु।

४. व्यक्तिगत अनुशासन तथा चरित्र निर्माण

नैतिकता, अनुशासन, आत्मसंयम र सकारात्मक जीवनशैली विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नु।

५. योग, शारीरिक व्यायाम तथा सुरक्षा सीप विकास

योगा, शारीरिक व्यायाम, मार्शल आर्ट, कवाज, विपद् उद्धारसम्बन्धी सिप र कलाको प्रशिक्षण प्रदान गर्नु।

६. सामाजिक सशक्तिकरण र विकासमा सहकार्य

समुदाय, सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरी सामाजिक विकासका कार्यक्रम अघि बढाउनु।

७. सदस्यहरूको व्यक्तित्व तथा नेतृत्व विकास

तालिम, गोष्ठी र अभ्यासमार्फत सदस्यहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गराई भौतिक तथा मानसिक विकासका शाश्वत मुल्य र परिणामलाई नागरीक समाज सम्म पुर्याउनु।

८. आर्थिक विकासको अन्वेषण, संयोजन र प्रोत्साहन

स्वरोजगार, उद्यमशीलता, सीपमूलक तालिम तथा आर्थिक सशक्तिकरणका अवसरहरू खोजी र प्रवर्द्धन गर्नु।

९. सामाजिक तथा मानवीय सेवा गर्ने व्यक्तिलाई सम्मान

सामुदायिक तथा मानव सेवामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरी प्रोत्साहित गर्नु।

५. संस्थाको सांगठनिक आधार क्षेत्र र तह

१. विद्यालय स्तरमा
(क) शिक्षक
(ख) अविभावक
(ग) विद्यार्थी

२. महिला स्वास्थ्य स्वयंसेविकाहरु

३. आमा समूहमा आवद्द महिलाहरु

४. योग साधना केन्द्रका योगाभ्यासीहरु

५. मार्शल आर्ट डोजाङ्हरु

६. अन्य संगठित तथा असंगठित क्षेत्रहरु

७. वडा, पालिका, जिल्ला, प्रदेश, विदेश र केन्द्रिय समिति

६. निष्कर्ष

जनसेवा केन्द्र नेपाल सेवा, समर्पण र सहकार्यको भावनासहित समाज परिवर्तनको अभियानमा निरन्तर क्रियाशील रहनेछ। सबैको सहभागिता, सहयोग र साथबाट मात्र समुन्नत समाज निर्माण सम्भव छ भन्ने विश्वासका साथ संस्था अगाडि बढिरहेको छ।

यस महान तथा पवित्र अभियानमा जोडिनु हुने हरेक व्यक्ति, समूह, संस्था वा निकायले स्वयंसेवा अन्तर्गत आर्थिक, भौतिक तथा मानसिक रुपले योगदान पुऱ्याउंदा प्राप्त हुने परिणामको अपनत्व लिन सक्नेछन्।

मूलतः सहयोगी एवं स्वयंसेवीहरुले कार्यक्रमिक योगदानको यथोचित सन्तुष्टी प्राप्त गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास हो।